२०८२ श्रावण ३

सिरहाको औरहीमा जातीय विभेद प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा भएको जातीय विभेद घटनाको अनुसन्धान सकिएर प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ। जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दाको छ दिनमै अनुसन्धान पूरा गरी बिहीबार प्रहरीको प्रतिवेदन सरकारी वकिलसमक्ष पठाइएको हो।

जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतका अनुसार अनुसन्धान प्रतिवेदन प्राप्त भइसकेको छ र त्यसको अध्ययन भइरहेको छ। अध्ययनपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अभियोगपत्र अदालतमा दायर गरिने उनले जानकारी दिए।

घटनासँग सम्बन्धित गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई चैत ९ गते साँझ प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि चैत १० गते प्रहरीले उनीहरूविरुद्ध जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दामा जाहेरी दर्ता गरेको थियो। जाहेरीमा बजरङ्गी बाबालाई समेत संलग्न देखाइएको छ।

घटना गत फागुन १० गतेको हो, जब महायज्ञका लागि तयार पारिएको स्थलमा दलित समुदायका दीपक मल्लिकको घर अछूत भन्दै भत्काइएको थियो। स्थानीयहरूले गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाको निर्देशनमा डोजर लगाएर घर भत्काइएको आरोप लगाएका थिए।

घटनापछि गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितलाई तत्काल केन्द्र तानेको थियो। मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

Picture of कानूनी खबर

कानूनी खबर

Picture of कानूनी खबर

कानूनी खबर

सम्बन्धित खबर